बारा, ३० असार । आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको मंगलबार बिहान करिब २:४० बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
सर्लाहीको गडैता नगरपालिका–१० निवासी मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
शरीरको ठूलो भाग जलेर गम्भीर अवस्थामा रहेका मण्डललाई बचाउन चिकित्सकहरूले अथक प्रयास गरे पनि त्यो सफल हुन सकेन।



