बारा, ३१ असार । न्यायको माग गर्दै पैदल यात्रामा निस्किएका मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढमा पुनः औपचारिक वार्ता सुरु भएको छ।
आज बुधबार मध्याह्न १२ बजे बस्ने तय भएको वार्ता करिब ८ घण्टा ढिलो गरी बेलुका मात्र सुरु भएको हो। दुवै पक्षबीचको छलफल निजगढस्थित नगर उद्योग वाणिज्य संघको भवनमा भइरहेको छ ।
यसअघि, जनकपुरबाट गत असार २५ गते काठमाडौंका लागि पैदल यात्रा सुरु गरेका पीडितहरू दुई दिनदेखि निजगढमै रोकिएका छन्। सरकारसँग निजगढमै वार्ता गरेर समस्या समाधान गर्ने वातावरण बनेपछि उनीहरूले आफ्नो पैदल मार्चलाई स्थगित गरेका थिए। वार्ताका लागि मिटरब्याजपीडितको आन्दोलनमा सहभागी संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले ६ बुँदे मागसहितको मस्यौदा गृहमन्त्रीसमक्ष बुझाइसकेको जानकारी दिए।
मंगलबारदेखि नै सुरु भएको वार्ता हिजो राति अबेरसम्म चले पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन। त्यसपछि आज बुधबार दिउँसो १२ बजे पुनः बैठक बस्ने सहमति भएको थियो।
तर, गृहमन्त्री गुरुङ सिमरा क्षेत्रमा भेटघाट, अनुगमन र पर्सा राष्ट्रिय निकुञ्जभित्रको मन्दिर दर्शनमा व्यस्त हुँदा वार्ताको समय पछि सरेको हो। गृहमन्त्रीको आज दिनभर पीडितहरुले प्रतीक्षा गरिरहँदा पीडित पक्षका अगुवाहरूले भने आफ्ना माग र रणनीतिबारे आन्तरिक छलफललाई तीव्र पारेका थिए।
पीडितहरूले यसपटक ठोस सहमति भए मात्रै निजगढबाटै आन्दोलन अन्त्य गर्ने अन्यथा काठमाडौं यात्रालाई निरन्तरता दिने अडान राखेका छन्।



