Tuesday, July 21, 2026

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

बारा, ०४ साउन । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण नौवटा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा ठप्प भएको छ।

कोशी प्रदेशको इलाम र पाँचथर जोड्ने मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने खोटाङको दिक्तेल–भोजपुर सडकखण्ड र मध्यपहाडी लोकमार्गका कतिपय क्षेत्रमा पनि पहिरोले बाटो छेकेको छ। यद्यपि, भोजपुरको मध्यपहाडी लोकमार्गमा भने बाढीका बावजुद एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।

बागमती प्रदेशमा पनि बाढी र पहिरोको उच्च जोखिमका कारण यातायात सेवा नराम्ररी प्रभावित भएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग र काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र चितवनको फिस्लिङस्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

धादिङको जवाङखोला क्षेत्रमा पृथ्वी लोकमार्ग ठप्प भए पनि तिस्मारखानी क्षेत्रमा भने एकतर्फी यातायात चालू छ। रसुवाको पासाङल्हामु सडक खण्डमा पनि हाल एकतर्फी रूपमा मात्रै गाडी चलिरहेका छन्।

वर्षाको क्रम अझै जारी रहेकाले बाढी र पहिरोको जोखिम कायमै रहेको नेपाल प्रहरीले जनाएको छ। जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रहरीले सर्वसाधारणलाई यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा प्रहरीसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न विशेष आग्रह गरेको छ। File Pic

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर