बारा, ०४ साउन । वैदेशिक रोजगारीका युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाही रहेकी छन्। उनलाई प्रहरीले काठमाडौंको माइतीघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
शाहीले एक जना पीडित व्यक्तिलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाई पटक-पटक गरी जम्मा १७ लाख रुपैयाँ रकम असुल गरेर ठगी गरेको आरोप रहेको छ। रकम लिएर काम पनि नगर्ने र पैसा फिर्ता माग्दा समेत आलटाल गरेपछि पीडितले कानुनी उपचारका लागि वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई माइतीघरबाट पक्राउ गरेको हो। पक्राउ परेकी शाहीमाथि विभागले थप कानुनी अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।



