बारा, ०५ साउन। बाराको कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक आज राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज राति करिब साढे १२ बजेको समयमा बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनि ट्रक अचानक अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मिनि ट्रकमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्। उनको टाउको तथा दुबै हातखुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।
त्यसैगरी सोही स्थानका ४० वर्षीय शिवनारायण पासवानको उपचारका क्रममा आज करिब १ बजे प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको जानकारी प्राप्त भएको छ।
दुर्घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी सहायक निरीक्षक रमेश राय चनउको कमाण्डमा २ जना तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक हुमानन्द खनालको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले मिनि ट्रक चालक रौतहट जिल्ला गुजरा नगरपालिका–९ सिमरा भवानिपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको जनाएको छ।
दुर्घटनामा मिनि ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एक साइडको पर्खाल भत्किएको छ। घटनास्थलमा बाटो अवरोध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



