बारा, ०६ साउन । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कायम रहेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने औपचारिक निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आर्थिक ऐनको व्यवस्था बमोजिम यो शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पारित भएको जानकारी दिएका हुन्।
यसअघि प्रधानमन्त्री बालेन शाहले अनौपचारिक रूपमा उक्त शुल्कहरू हटाउने जानकारी दिएका भए पनि बुधबारको मन्त्रिपरिषद् बैठकले यसलाई औपचारिक रूपमा स्वीकृति दिएको हो।
सरकारको निर्णयसँगै अब देशका कुनै पनि विद्यालय वा अस्पतालले समता शुल्क शीर्षकमा अतिरिक्त रकम असुल गर्न नपाउने भएका छन्।



