बारा, ०७ साउन । सिराहाको लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट प्रहरीले ६५२ केजी लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय सिराहाबाट खटिएको विशेष टोलीले बुधबार पार्किङ गरी राखिएको बा२१ च ५८६६ नम्बरको पिकअप गाडीबाट सो परिमाणको गाँजा बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाका अनुसार पिकअप गाडीमा फलफूल (नास्पाती) को मुनि गोप्य रूपमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला पारिएको हो। अवैध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले लहान नगरपालिका–३ बस्ने ३८ वर्षीया श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतोलाई पक्राउ गरेको छ।
बरामद गरिएको ६५२ केजी गाँजा, पिकअप गाडी र पक्राउ परेका तीनै जना आरोपीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिएका छन्।



