बारा, ०९ साउन । आर्थिक वर्ष २०८२/८३ मा बारा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाहीबाट १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार वर्षभरिमा १५ हजार ६ सय ९३ वटा सवारीसाधन कारबाहीमा परेका हुन्।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष कारबाहीमा पर्ने सवारीसाधनको संख्या र राजस्व सङ्कलन दुवैमा उल्लेख्य कमी आएको छ। आव २०८१/८२ मा २३ हजार ४ सय २४ सवारीसाधनलाई कारबाही गर्दा २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व उठेको थियो।
कारबाही र राजस्व घटे पनि सडक दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण नै रहेको प्रहरीको भनाइ छ। गत आर्थिक वर्षभर जिल्लाका विभिन्न सडकखण्डमा १ हजार २ सय ११ सवारी दुर्घटना भएका छन्, जसमा परि ७९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो वर्ष १ हजार १ सय ४७ दुर्घटनामा ९३ जनाको मृत्यु भएको थियो।
तथ्याङ्क अनुसार दुर्घटनाको कुल संख्या केही बढे पनि मानवीय क्षति (मृत्यु) भने घटेको देखिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सडकको कमजोर अवस्था, तीव्र गति, चालकको लापरवाही तथा नियमको बेवास्ता नै दुर्घटनाका मुख्य कारण हुन्।
नियमित सवारी जाँच, नियम उल्लङ्घनमा कडाइ र सडक सुरक्षासम्बन्धी जनचेतनामूलक अभियानलाई निरन्तरता दिएकाले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको उहाँले बताउनुभयो। दुर्घटना कम गर्न प्रहरी स्वयं छड्के अनुगमन तथा जाँचमा सक्रिय रूपमा लागिपरेको र आगामी दिनमा पनि चेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने प्रहरीको प्रतिबद्धता छ।



