Sunday, July 26, 2026

बन्द उद्योगबाट चार लाख बराबरका सामग्री चोरी, औद्योगिक सामग्रीसहित ३ जना पक्राउ

बारा, १० साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, रातोपुलस्थित लामो समयदेखि बन्द अवस्थामा रहेको श्रीराम खाद्य उद्योगमा चोरी भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार उद्योग परिसरबाट १५ वटा विद्युतीय मोटर, एक थान प्यानल बोर्ड, चार वटा फलामका डिस्क, दुई टन कवाडी फलाम, दुई थान बोरिङ, एक थान क्लच प्लेट र पुराना ब्याट्री गरी करिब रु. ४ लाख १५ हजार मूल्य बराबरका औद्योगिक उपकरण तथा धातुजन्य सामग्री चोरी भएका हुन्। 

उद्योगका सञ्चालक रामबाबु प्रसाद साह कलवारले शुक्रबार लिखित उजुरी दिएपछि प्रहरी नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा परिचालित टोलीले अनुसन्धान अघि बढाएको थियो। विगत तीन वर्षदेखि उद्योग बन्द रहेको र परिसरमा सुरक्षा घेराबारसमेत नभएका कारण चोरी गर्न सहज भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। अनुसन्धानका क्रममा चोरी भएका ग्यास चुलो १,५०० थानसमेत बरामद गरिएको छ। 

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जीतपुरसिमरा–५ का २२ वर्षीय बादल मियाँ, वडा नं. ७ का ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाललाई नियन्त्रणमा लिएको छ। हाल इलाका प्रहरी कार्यालय जीतपुरको हिरासतमा राखी उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले चोरीमा अन्य व्यक्तिको पनि संलग्ना हुन सक्ने अनुमान गर्दै बाँकी सामग्रीको खोजी कार्य र थप अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर