Tuesday, July 28, 2026

सुनसरी घटनापछि मध्यराति प्रधानमन्त्री बालेनको अपिल, ‘संयम र सामाजिक सद्भाव कायम राखौँ’

बारा, १२ साउन । सुनसरीमा भएको घटनाप्रति प्रधानमन्त्री बालेन शाहले दुःख व्यक्त गर्दै नागरिकहरूलाई संयम, शान्ति र सामाजिक सद्भाव कायम राख्न भावुक अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले एउटा सामान्य विवादले उग्र रूप लिँदा सर्वसाधारणको ज्यान जाने र समाजमा अविश्वास तथा डरको वातावरण सिर्जना हुनु अत्यन्तै दुःखद् भएको बताएका छन्।

देशको नागरिक र सरकार प्रमुखको हैसियतले आफू यस घटनाबाट स्तब्ध भएको उल्लेख गर्दै उहाँले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रधानमन्त्री शाहले घटनाको सुरुवातदेखि नै सरकारले स्थिति नियन्त्रणमा लिन प्रयास गरे पनि सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनुलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारे।

सुरक्षा निकायको तर्फबाट भएको यस्तो क्षतिको गम्भीर समीक्षा भइरहेको र घटनाबारे निष्पक्ष अनुसन्धान सुरु भइसकेकाले कसुरदारमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनले प्रतिबद्धता जनाए। साथै, पीडित परिवारलाई सरकारको तर्फबाट यथासक्य चाँडो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराइने आश्वासन समेत दिएका छन्।

नागरिकको ज्यान जोगाउनु मानिसको पहिलो धर्म र आफ्ना नागरिकलाई सुरक्षा दिई दोषीलाई कारबाही गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सर्वसाधारणलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्न आग्रह गरेका छन्।

मनमा रहेका रिस, डर र तुषलाई हटाएर संयमित हुन तथा सामाजिक सद्भाव, प्रेम र सम्मानको वातावरण कायम राख्न अपिल गर्दै उनले सरकारले चाँडै परिणाम दिने गरी काम गरिरहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर