बारा, १३ साउन । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सुनसरी घटनाको विषयमा छलफल गर्न सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको उक्त बैठकको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गर्नुभएको छ। तर, तराई-मधेशका विभिन्न भागमा विरोध प्रदर्शन चर्किंदै गएको र सुनसरीमा एक जनाको मृत्यु भएको संवेदनशील अवस्थामा आयोजित यस बैठकमा सरकारका प्रमुख जिम्मेवार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने सहभागी नभएको पाइएको छ ।
सुनसरी घटनालाई लिएर चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको समयमा आयोजित यो बैठकलाई राजनीतिक रूपमा निकै महत्त्वका साथ हेरिएको छ।
बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा वरिष्ठ नेताहरूको उपस्थिति रहेको छ। सहभागी हुनेहरूमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत छन।
बैठकमा सुनसरी घटना, तराई-मधेशको शान्ति-सुरक्षाको स्थिति र विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ।



