बारा, १४ साउन । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा स्थिति र शान्ति सुव्यवस्थालाई ध्यानमा राख्दै धनुषाको निश्चित क्षेत्रहरूमा आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा हस्ताक्षरित सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम तोकिएका क्षेत्रभित्र कसैलाई आवतजावत गर्न, भेला हुन, जुलुस वा प्रदर्शन गर्न, सभा आयोजना गर्न तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू आदेश तोकिएका क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोक र पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड-एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला र कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको छ।
जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लंघन गर्ने जोकोहीलाई पनि प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जनाएको छ।



