Thursday, July 30, 2026

धार्मिक सहिष्णुता र शान्ति कायम राख्न प्रधानमन्त्रीको अपिल: ‘सबै धर्मको मूल सार करुणा, दया र शान्ति नै हो’

बारा, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्दै सुनसरीको देवानगन्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सम्बोधनका क्रममा उनले सबै पक्षलाई संयम अपनाउन र सदियौँदेखि कायम रहेको राष्ट्रिय एकता तथा सामाजिक भाइचारा जोगाउन आग्रह गरेका छन्।

घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइसकिएको जानकारी दिएका छन्। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याइ छाड्ने दृढता व्यक्त गरेका छन्।

“संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन, सबै धर्मको मूल सार करुणा, दया र शान्ति नै हो,” भन्दै प्रधानमन्त्रीले प्रतिशोधको आगो नफैलाउन सबैमा अनुरोध गरे।

नेपालको संविधानले प्रदान गरेको धार्मिक र सांस्कृतिक अधिकारको रक्षा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले भ्रामक हल्लाको पछि नलागी आधिकारिक तथ्यमा मात्र विश्वास गर्न आग्रह गरेका छन्। साथै, अराजकता फैलाउने र समाजमा विभाजन ल्याउन खोज्ने तत्वहरूविरुद्ध सरकारले कडा कदम चाल्ने समेत बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर