Friday, July 31, 2026

देवानगञ्ज घटना: सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

बारा, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत श्रावण १० गते भएको दुःखद् घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका पीडित परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सम्झौता भएको छ।

पीडित पक्षले अघि सारेका मागहरूलाई सरकारले यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै दुवै पक्षबीच औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउनेछ भने दुवै मृतकका परिवारलाई राहत स्वरूप जनही १० लाख रूपैयाँ उपलब्ध गराउने भएको छ।

त्यसैगरी, साउन १० गते राति भएको उक्त घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउनुका साथै देवानगञ्ज–३ स्थित मदरसाको कानूनी हैसियत र सोसँग सम्बन्धित विषयहरूमा तत्काल छानबिन सुरु गर्ने सहमति भएको छ।

यसैगरी, दुवै मृतकका परिवारका एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने र स्थानीय सरकारको समन्वयमा मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा ‘स्मृति पार्क’ निर्माण गर्ने निर्णय पनि सम्झौतामा समेटिएको छ।

सहमति पत्रमा सरकारका तर्फबाट माननीय गृहमन्त्री सुधन गुरुङ्ग तथा पीडित परिवारका तर्फबाट नरेश मेहतालगायतका अभिभावकहरूले हस्ताक्षर गरेका छन्। सहमति पश्चात् आज साउन १५ गते दिउँसो २ बजे मृतकद्वयको अन्तिम संस्कार गर्ने तय भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर