बारा, १५ साउन । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार पछिल्लो सुरक्षा स्थितिको विश्लेषण गर्दा आन्दोलन वा हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुने स्थिति देखिएकाले जिल्ला सुरक्षा समितिको साउन १५ गतेको निर्णय बमोजिम कर्फ्यु आदेश लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साउन १५ गते शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसविट्टी चौक र दक्षिणमा विष्णुपुर गाउँपालिकातर्फ पर्ने कोशी पश्चिम मुल नहरसम्मको चारकिल्ला क्षेत्रभित्र कर्फ्यु जारी गरिएको छ।
आदेशको बर्खिलाप हुने गरी कुनै गतिविधि गरे वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ। Filepic



