बारा, १५ साउन । तराई–मधेश क्षेत्रमा विकसित पछिल्लो सुरक्षा चुनौती र बढ्दो तनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपीसम्मका १५ जना उच्च प्रहरी अधिकृतहरूलाई फिल्डमा खटाएको छ।
साउन १० गते राति सुनसरीको कप्तानगञ्जमा भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि मोरङ, सुनसरी, सिरहा, र धनुषा लगायतका जिल्लाहरूमा आगजनी, तोडफोड र झडपका घटनाहरू बढेका छन्। हालसम्म यस हिंसात्मक तनावका कारण तीन जनाले ज्यान गुमाइसकेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रभावित क्षेत्रहरूमा कर्फ्यु जारी गरी सेनासमेत परिचालन गरिएको छ।
प्रहरी प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार मधेशको संवेदनशील बनेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी जनशक्ति तथा स्रोत–साधनको प्रभावकारी व्यवस्थापन, नीति-निर्देशन, सूचना संकलन, सुरक्षा कार्ययोजना र प्रत्यक्ष फिल्ड परिचालनका लागि उच्च अधिकारीहरूलाई खटाइएको हो। परिचालन गरिएका अधिकारीहरूले सम्बन्धित प्रदेश तथा जिल्ला प्रहरी कार्यालयहरूसँग प्रत्यक्ष समन्वय गरी शान्ति सुरक्षा सुदृढ बनाउन सहजीकरण गर्नेछन्।
बारा जिल्लाको सुरक्षा व्यवस्थापन र समन्वयका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई खटाइएको छ। त्यस्तै एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु र एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश तथा सुनसरीको जिम्मेवारी दिइएको छ। डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा र डीआईजी अबि नारायण काफ्लेलाई सप्तरी खटाइएको छ।
यसै गरी अन्य जिल्लाहरूमा एसएसपी गोपाल चन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी कृष्ण प्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँललाई मोरङ, एसएसपी भुवनेश्वर तिवारीलाई धनुषा र एसएसपी अमरेन्द्र बहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको प्रहरी मुख्यालयले जनाएको छ।



