बारा, १६ साउन । देशका विभिन्न भागमा घटित हालैका घटनाक्रम र त्यसपश्चात् उत्पन्न प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै बारामा आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले वृहत् सामाजिक सद्भाव र्यालीको आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको संयोजनमा आज शनिबार बिहान कार्यालय परिसरबाट सुरु भएको उक्त र्यालीले कलैया बजारका विभिन्न भागको परिक्रमा गरेको थियो।
र्यालीमा जिल्लास्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक संघसंस्थाका अगुवा, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बीहरू, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कर्मचारी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो।
सहभागीहरूले “विभेद अन्त्य गरौँ, भाइचारा बढाऔँ“, “हाम्रो एकता, देशको विशेषता“, “घृणा फैलाउने बन्द गरी, सद्भाव बढाऔँ“ तथा “शान्ति नै समृद्धिको आधार“ जस्ता नारा लेखिएका प्लेकार्ड बोकी सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए।



