बारा, १६ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै कुल ९ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ घर भई काठमाडौं टोखा बस्ने ३२ वर्षीय पवन कुमार केसी (बिक्रम), रौतहट घर भई काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय सुधिर प्रसाद जयसवाल र काभ्रे घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने ३८ वर्षीया लक्ष्मी खड्का रहेका छन्।
पक्राउ परेकामध्ये पवनले सिंगापुर पठाइदिने भन्दै २ जनाबाट ७ लाख, सुधिरले साइप्रस पठाइदिने भन्दै १ जनाबाट १ लाख र लक्ष्मीले रोमानिया पठाइदिने भन्दै १ जनाबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।



