बारा, १६ साउन। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ अन्तर्गत चकरीदेखि नयाबस्ती, अमलेखगञ्ज क्षेत्रमा विद्युत् लाइन स्तरोन्नति कार्य गरिने भएपछि तीन दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
सिमरा वितरण केन्द्रका अनुसार भोलि साउन १७, १८ र १९ गते ११ केभी विद्युत् प्रसारण लाइनमा जडित पुरानो ACSR Conductor हटाई सुरक्षित र आधुनिक Covered Conductor जडान गरिनेछ। उक्त कार्यका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म नयाबस्ती क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
वितरण केन्द्रले विद्युत् प्रणालीको सुरक्षा अभिवृद्धि, सेवा प्रवाहलाई थप भरपर्दो बनाउने तथा भविष्यमा हुन सक्ने प्राविधिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले लाइन स्तरोन्नतिको काम गर्न लागिएको जनाएको छ। कार्य सम्पन्न भएसँगै उक्त क्षेत्रमा विद्युत् आपूर्ति अझ सुरक्षित र प्रभावकारी हुने विश्वास गरिएको छ।
विद्युत् सेवा अवरुद्ध हुने समयलाई ध्यानमा राखी आवश्यक विद्युतीय उपकरणको वैकल्पिक व्यवस्था गर्न वितरण केन्द्रले उपभोक्तासँग आग्रह गरेको छ। साथै, मर्मत तथा स्तरोन्नति कार्यका क्रममा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति सिमरा वितरण केन्द्रले क्षमायाचना गर्दै उपभोक्ताको सहयोग र समझदारीको अपेक्षा गरेको छ।



