काठमाडौं, १७ साउन । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति कर्मा तामाङ रहेका छन्।
साउन १६ गते राति प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा साथमा रहेको खुकुरी निकालेर प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली चलाएको थियो।
गोली लागेर घाइते भएका तामाङलाई तत्काल नियन्त्रणमा लिई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ। प्रहरीले उनको साथबाट लुटपाट र आक्रमणमा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



