कलैया, १९ साउन। कलैया उपमहानगरपालिका–२ निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई ‘उपकार सेवा नेपाल’को पहल तथा Queen Jewels Pvt. Ltd. को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।
घरबाहिर आवतजावत गर्न तथा दैनिक हिँडडुल गर्नसमेत अत्यन्त कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि उपकार सेवा नेपालले कुर्मीलाई सवारीको व्यवस्था गरी वीरगञ्ज ल्याएर ह्वीलचेयर हस्तान्तरण गरेको हो। संस्थाले उहाँलाई सम्मानपूर्वक सहयोग प्रदान गर्दै पुनः घरसम्म सुरक्षित रूपमा पुर्याएको जनाएको छ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, युवा सचितानन्द मिश्रा, सञ्चारकर्मी प्रहलाद चौरासिया लगायतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता मानवीय सेवामूलक कार्यले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए। ह्वीलचेयर प्राप्त गरेपछि हिरालाल राउत कुर्मीको दैनिकी थप सहज हुने र उहाँको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ।




