बारा, १५ असोज । वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई प्रत्येक हप्ताको शनिबार र आइतबार अनिवार्य रूपमा सार्वजनिक बिदा दिन कडा निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र नगर शिक्षा समितिको गत असोज ५ गतेको निर्णयानुसार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले परिपत्र जारी गर्दै यो ताकेता गरेको हो।
वीरगञ्जका केही संस्थागत विद्यालयहरूले आइतबारका दिन पनि नियमित पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरले सबै विद्यालयहरूमा बिदा र पठनपाठनको समयमा एकरूपता कायम गर्न दुई दिन अनिवार्य बिदाको व्यवस्था कडाइका साथ पालना गराउन यो कदम चालेको महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन्।






