बारा, ०८ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन गइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ।
भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यस प्रतियोगिताको उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
क्यानका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो स्थान हासिल गर्नेले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
मैदान तथा प्रतियोगिता व्यवस्थापनका सबै प्राविधिक र भौतिक तयारीहरू चुस्त रूपमा सम्पन्न भइसकेको जनाउँदै क्यानले यस तेस्रो संस्करणबाट करिब ७० करोड रुपैयाँको आर्थिक कारोबार हुने आशा राखेको छ, जसमध्ये २० करोड रुपैयाँ शुद्ध आम्दानी हुने क्यानको अनुमान रहेको छ।





