बारा, ०७ कत्तिक । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउने केमिकल बोकेको ट्रक एकापसमा ठोक्किँदा बारा जिल्लाका ईभी चालकसहित १२ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी गाडी विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुने सबै १२ जना बारा जिल्लाका बासिन्दा रहेका छन्।
घाइतेहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ भने गम्भीर घाइते सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल ल्याइएको छ।
दुर्घटनामा परेर घाइते हुने बाराका अन्य यात्रुहरूमा महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय ईभी चालक कामेश्वर सहनी (मध्यम), महागढीमाई–९ का ४८ वर्षीय राजेन्द्र राम (सामान्य), सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम (मध्यम), सोही ठाउँका ४० वर्षीय राजदेव राम (सामान्य), ४० वर्षीय विनोद राम (सामान्य) र ४७ वर्षीय रुदल राम (सामान्य) रहेका छन्। त्यसैगरी सुवर्ण–७ का ६३ वर्षीय हरिहर राम (सामान्य), कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम (सामान्य), सोही ठाउँका ३७ वर्षीय उमेश राम (मध्यम), पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम (सामान्य) र सिम्रौनगढका ४० वर्षीय नवलकिशोर राम (सामान्य) घाइते भएका छन्।
ठक्कर दिने ट्रकका चालक मोरङ, बूढीगंगा गाउँपालिका–४ बस्ने अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखेको छ। दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरतर्फ ल्याउने पहल भइरहेको छ भने पूर्व–पश्चिम राजमार्गमा सडक अवरुद्ध नभई यातायात सुचारु अवस्थामा रहेको प्रहरीले जनाएको छ।





