Sunday, October 25, 2026

सुवर्णमा बढ्दो चोरी नियन्त्रण गर्न इन्जिनियर सुनिल यादवको १५ दिने अल्टिमेटम

Advertisement
Advertisement

बारा, ८ कात्तिक। बाराको सुवर्ण गाउँपालिकाका विभिन्न बस्तीमा चोरीका घटना बढ्दै गएको भन्दै स्थानीय युवा इन्जिनियर सुनिल कुमार यादवले नागरिकको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनसँग माग गरेका छन्।

सुवर्ण गाउँपालिकाको हर्दिया, चरमोहना, गोठगाउँ र पचगछिया लगायतका स्थानमा घरको पर्खाल तथा भित्ता फोडेर लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै यादवले नागरिकलाई आश्वासनभन्दा सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन्।

उनले चोरीको हल्ला र आशंकाका आधारमा औरैयामा दलित समुदायका व्यक्तिमाथि भएको भनिएको कुटपिटको घटनाको समेत भर्त्सना गरेका छन्। कुनै पनि व्यक्तिलाई शंका वा आरोपकै आधारमा कुटपिट गर्नु गलत भएको उल्लेख गर्दै उनले कानुन हातमा लिने प्रवृत्ति रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नागरिकको सुरक्षा सुनिश्चित गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने यादवको भनाइ छ। उनले सीमावर्ती संवेदनशील नाका, नहर सडक तथा मुख्य बजार क्षेत्रमा सीसीटीभी क्यामेरा र सडकबत्ती जडान गर्नुपर्ने माग राखेका छन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी नियमित रात्रि गस्तीको व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन्।

यादवले स्थानीय सरकार र प्रशासनलाई सात दिनभित्र सर्वपक्षीय समन्वय बैठक आयोजना गर्न तथा १५ दिनभित्र लागत अनुमानसहितको प्रारम्भिक कार्ययोजना सार्वजनिक गर्न अल्टिमेटम पनि दिएका छन्।

तोकिएको समयभित्र स्थानीय सरकारले आवश्यक पहल नगरे नागरिक अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय, संघीय सांसद र गृह मन्त्रालयसम्म विषय उठाउने तथा हस्ताक्षर अभियानमार्फत सामूहिक दबाब सिर्जना गर्ने उनले चेतावनी दिएका छन्।

सुवर्ण क्षेत्रमा बढ्दो चोरीका घटनाले स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको भन्दै यादवले नागरिकको जिउधनको सुरक्षा र शान्तिसुरक्षा कायम गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर