बारा, ०८ कात्तिक। बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार (कात्तिक ८ गते) दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा पुरुष व्यक्ति रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो।
अन्दाजी ६० देखि ६२ वर्ष उमेरका ती पुरुषको उपचारका क्रममा सोही दिन साँझ ५:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रादेशिक अस्पताल कलैयामै सुरक्षित राखिएको छ। हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
प्रहरीले मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त तथा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।
मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको प्रहरीले जनाएको छ। उनले घाँटीमा सेतोमा हरियो धर्सा भएको गम्छा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र दाहिने हातको साइँली औँलामा औँठीसमेत रहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुलाउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ। यससम्बन्धी कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय बाराको सम्पर्क नम्बर १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा सम्पर्क गर्न सकिनेछ।





