बारा, १७ कात्तिक । सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ‘प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले अध्यादेशमार्फत ऐनहरू संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। यसअघि पनि सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएको थियो।





