बारा, १६ कात्तिक । धनुषाका एक युवकले मात्र ४१५ रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको नगद उपहार जित्न सफल भएका छन्।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास स्थायी घर भई हाल ललितपुर बस्दै आएका गौरीशंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उक्त ठूलो राशिको उपहार जितेका हुन्।
पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँ बराबरको तोरीको तेल खरिद गरेका थिए। उक्त सामान खरिद गरेबापत उनले ई-सेवा मार्फत डिजिटल भुक्तानी गरेका थिए।
आन्तरिक राजस्व विभागले सोमबार विद्युतीय प्रणालीमार्फत बिल काट्ने ग्राहकहरूका लागि सञ्चालन गरेको गोलाप्रथा (लकी ड्र) को नतिजा सार्वजनिक गर्दा गौरीशंकर १० लाख रुपैयाँको प्रथम पुरस्कार विजेता घोषित भएका हुन्।
डिजिटल भुक्तानी र आधिकारिक बिलिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।





