बारा, १४ पुस । नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बारा जिल्लामा भव्य स्वागत गरिएको छ ।
ट्रफीसहित सहित जिल्लामा आएका खेलाडीहरुलाई विभिन्न स्थानियतहमा खेलप्रेमीहरुले स्वागत तथा अभिनन्दन गरेका थिए । दिउसो १२ बजे महागढिमाई नगरपालिकाको बरियारपुरमा अवस्थित गढिमाई मन्दिर नजिकैबाट विजयी यात्रा सुरु गरिएको थियो । महागढिमाई नगरपालिकाको विभिन्न ठाउँमा नगरपरिक्रमा गरिएको थियो ।
त्यस्तै दिउँसो १ बजे जिल्लाको सदरमुकाम कलैयामा नगर परिक्रमा गरिएको थियो । कलैया स्थित करनराज होटलबाट सुरु भएर कलैया बजारभरि परिक्रमा गराइएको थियो।
खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बारा जिल्लाको विभिन्न स्थानबाट आएका युवाहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । खेलाडीहरूलाई कलैया उपमहानगरपालिका र महागढिमाई नगरपालिकाले स्वागत–सम्मान पनि गरेको थियो ।