25.6 C
Kalaiya

Wednesday, September 17, 2025
spot_img
25.6 C
Kalaiya
Wednesday, September 17, 2025

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

spot_img
spot_img

काठमाडौं, १६ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौसम र परिस्थितिअनुसार भाषण गर्न माहिर छन् । विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि यसै गर्थे । आफू जुन ठाउँमा पुगेको छ, त्यहाँको हावापानीअनुसार नै भाषण गर्ने गर्थे । अहिले त्यसलाई प्रचण्डले निरन्तरता दिइरहेका छन् ।

Advertisement

माओवादी यतिबेला जनतासँग तराई मधेशको जागरण अभियानमा छ । पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुर पुगेर माओवादी अभियान सकिनेछ । अभियानमा सिंगो माओवादी जुटेको छ । उसले यसलाई पार्टी संगठन विस्तार पनि भनेको छ । माओवादी नेताहरू कोशीका तीन जिल्लामा कार्यक्रम सकेर मधेश प्रदेश पसेका छन् । उनीहरू अहिले शुक्रबार सप्तरीमा छन् ।

Advertisement

बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा संवाद अभियानमा प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको दाबी गरे । उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिमलगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनको दाबी थियो ।

हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गरेका थिए। प्रचण्डले मुस्लिम समुदायलाई भनिहाले– माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएको हो, आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनोस् ।’

प्रचण्डले शुक्रबार सप्तरीको राजविराजमा पनि बिहीबारकै जस्तो भाषा दोहोर्याए । उनले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताए ।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयामा परेको औल्याउँदै प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेशवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको उनले बताए। आफूलाई मधेशवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे । प्रचण्डले मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्दै मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको दाबी पनि गरे ।

हिजो संविधान बनाउने बेला पनि प्रचण्ड यस्तै स्वरुपमा प्रकट हुन्थे । संविधानसभामा रहेका विभिन्न जातजातिसँग सम्बन्धित ककस उचाल्ने र संविधान बन्न नदिने उनको रणनीति थियो । नौ वर्षसम्म निरन्तर सत्तामा बसेर अहिले सडकमा पुगेपछि प्रचण्डले मुस्लिम, मधेशी समुदायलाई प्रभावित पार्ने रणनीति अख्तियार गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर