बारा, ०२ असोज । मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
२०६८ सालमा पप्पु लुम्बिनी जेभीले ठेक्का लिएको यो आयोजना २०७८ असारमा उद्घाटनको तयारी हुँदै गर्दा बाढीले पिलर भाँचिएपछि र ठेकेदार-बीमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समय रुग्ण बनेको थियो।
हाल भाँचिएको दशौँ पिलर उठाउने, सब-स्ट्रक्चरको ढलान, तीनवटा पिलरको सबलीकरण र पुलको लोड टेस्ट समेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ। धनुषातर्फ वर्षाले बगाएको पहुँच सडक सुधार गर्ने र नदीमा पानीको सतह घट्नासाथ सुपर स्ट्रक्चरको स्ल्याब ढलान गर्ने बाँकी काम सम्पन्न गरी अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
साथै, मन्त्रालयले पुल सुरक्षाका लागि २५ करोड रुपैयाँको बजेट सुनिश्चित गरी कमला नदी नियन्त्रणको काम समेत अघि बढाएको छ।






