बारा, ०३ असोज । २०७२ साल असोज ३ गते ऐतिहासिक संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको स्मरण गर्दै आज देशभर विविध कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ।
नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा प्राप्त यस दिनको अवसरमा विभिन्न समारोह आयोजना गरिएको छ।
हरेक वर्षझैँ यस वर्ष पनि काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । उक्त समाहरोमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायत उच्चपदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको छ।
यसैगरी, प्रदेश सरकार, स्थानीय तह, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न सङ्घसंस्था र नागरिकस्तरबाट पनि आ-आफ्नै तरिकाले प्रभातफेरी, विचार गोष्ठी तथा दीपप्रज्ज्वलनजस्ता कार्यक्रमहरू गरी दिवस मनाइँदै छ।
दिवसको शुभकामना व्यक्त गर्दै देशका प्रमुख राजनीतिक नेताहरूले संविधानको मर्म र भावनाअनुसार नागरिकका मौलिक अधिकारको संरक्षण, समावेशी लोकतन्त्रको सुदृढीकरण र देशको समृद्धिका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।
संविधानको पूर्ण कार्यान्वयन र संस्थागत विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्नु नै आजको मुख्य प्राथमिकता रहेको नेताहरूको सन्देशमा उल्लेख छ।






