कलैया, २८ चैत । पर्सा प्रहरीले लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय ५० ग्राम र मोबाइल ४ थान सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झवरा टोल बस्ने ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । नियमित चेकजाँचको क्रममा नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुको साथबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानु रहेको प्रहरी नायब उपरिक्षक लम्सालले जानकारी दिए ।उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।