कलैया, ३१ असार। बारामा बढ्दो लागू औषध दुव्र्यसन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष तामाङ सक्रिय रूपमा अघि बढेका छन्। उनले लागू औषध दुव्र्यसनविरुद्ध ‘ड्रप ड्रग्स’ अभियान नै औपचारिक रूपमा सञ्चालन गरेका हुन्। साउन महिनाको पहिलो सोमबारबाट सुरु भएको यस अभियानलाई जिल्लामा दुव्र्यसन नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ ।
अभियान प्रारम्भ भएदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट लागू औषध सेवन एवं दुव्र्यसनमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक तामाङले जानकारी दिए।
उनका अनुसार अभियानलाई प्रभावकारी बनाउन विस्तृत कार्ययोजना तयार गरिएको छ। कार्ययोजना अनुसार जिल्लामा अवैध रूपमा भइरहेको गाँजा खेती तथा उत्पादनको पहिचान गरी नष्ट गर्ने र यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न स्थानीय तहसँग सहकार्य गर्दै चेतनामूलक कार्यक्रम सञ्चालन गरिने तामाङले जानकारी दिए ।
लागू औषधको ओसार–पसार र अवैध कारोबार नियन्त्रण गर्न सम्भावित स्थानहरूमा निगरानी बढाइने र यसका लागि सीमावर्ती क्षेत्रमा १४ वटा प्रहरी पोष्ट स्थापना गरी २४ सै घण्टा कडाइका साथ जाँच तथा अनुगमन गरिने व्यवस्था मिलाइएको एसपी तामाङले जानकारी दिए । शंकास्पद व्यक्ति र सवारी साधनलाई रोकतोक तथा आवश्यक अनुसन्धान गरिने उनले जानकारी दिए ।
एसपी तामाङका अनुसार सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरी सूचनाहरू संकलनलाई थप प्रभावकारी बनाइनेछ। त्यसैगरी प्रयोगविहीन शौचालय, जीर्ण भवन तथा झाडीहरूमा बसेर लागू औषध सेवन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिने र यस्ता स्थानहरूलाई कडाइका साथ निगरानीमा राख्ने योजना समेत रहेको छ।
एसपी तामाङले लागू औषध नियन्त्रणका लागि प्रहरी प्रशासन कटिबद्ध भएर लागिपरेको भन्दै सबैलाई सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्।