पर्सा,१६ भदौ । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएको गृहमन्त्री लेखकले बताए ।
“ लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,” उनले भने , “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौंँ ।”
प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको र नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् ।