कलैया, २६ भदौ । सर्वोच्च अदालतमा भदौ २९ गते (आइतबार) देखि सेवा प्रवाह सुरु हुने भएको छ । अदालतले आइतबार २९ भदौदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश राउतले विज्ञप्ति जारी गर्दै २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । साथै उनले सर्वोच्च अदालतलगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन ।
“जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आमनागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”विज्ञप्तिमा उल्लेख छ
आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरु, कर्मचारीहरु, कानुन व्यवसायीहरु, कानुनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुलाई प्रधानन्यायाधीश राउतले धन्यवाद प्रकट गरेका छन ।