कलैया, २६ भदौ । बाराको विश्रामपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी पछि नियमित सेवा बन्द भएको छ ।
भदौ २३ र २४ गतेको घटनामा कार्यालय भवनका सम्पूर्ण कोठा तोडफोड हुनुका साथै आगजनी हुँदा कार्यालयमा रहेका कागजात तथा अभिलेख जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले बारा अपडेटलाई जानकारी दिएका छन । गाउँपालिकाका सवारीसाधनहरू पनि जलेर पूर्ण रूपमा क्षति भएको छ ।
भौतिक संरचना र कागजात नष्ट भएकाले गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा हाल ठप्प भएको कार्यालयको प्रशासन शाखाले जनाएको छ ।
कार्यालय आउँदा कर्मचारीको ज्यानमाथि समेत खतरा हुनसक्ने भएकाले अर्को सूचना नआएसम्म सबै कर्मचारीलाई घरमै सुरक्षित बस्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।