कलैया, २५ असोज । बारामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–६ मा शनिबार बिहान माटोको ढिस्कोमा पुरिँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल बस्ने दशरथ महतोको श्रीमती ७० वर्षीया शारदा देवी महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनलाई उपचारका लागि प्रदेशिक अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।
त्यस्तै सिम्रौनगढ नगरपालिका–५ सानो इटवालका राजेश्वर महतोका छोरा १५ वर्षीय सुनिल महतोको पनि मृत्यु भएको छ । उनलाई उपचारको लगी कलैया मेट्रो अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार बिहान करिब ८:५० बजे सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खस्दा घटना भएको हो। घटनामा घाइते हुनेहरूमा सिम्रौनगढ नगरपालिका–६ सानो इटवालका बिश्वनाथ महतोका छोरा १४ वर्षीय साजन महतो रहेका छन ।
उनको सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भैरहेको छ । सोही वडाका राज किशोर महतोका छोरा १५ वर्षीय नितेश महतो समेत घाइते भएका छन । उनी पनि कंकाली अस्पतालमै उपचाररत छन्। यस्तै सिम्रौनगढ नगरपालिका–६ अमरपुरका सन्तोष मुखियाका छोरा १८ वर्षीय गौतम मुखिया घाइते भएका छन । उनको प्रदेशिक अस्पताल कलैयामा उपचाररत छन्। सिम्रौनगढ नगरपालिका–५ सानो इटवालकी बृजकिशोर महतोकी छोरी १४ वर्षीया रानी कुमारी महतो, सोही वडाका लक्ष्मी महतोका छोरी १४ वर्षीया सुशिला कुमारी महतो र सिम्रौनगढ नगरपालिका–५ सानो इटवालका प्रभु शर्माका छोरा १५ वर्षीय राजा बाबु शर्मा घाइते भएका छन ।
घाइते सबैको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था बुझ्न बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल अस्पताल पुगेका छन ।