कलैया, २० पौष। नेकपा एमालेको ११ औं राष्ट्रिय अधिवेशनबाट बारा निर्वाचन क्षेत्र नं ३ कि निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री ज्वाला कुमारी साह केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएपनि क्षेत्रिय कमिटी बैठकबाट हुने उम्मेदवार सिफारिसको मतदानमा हारेकी छन्।
२०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २ हजार ९ सय ७२ भोटले जितेकी साह फाल्गुन २१ गते हुने निर्वाचनको क्षेत्रीय उम्मेदवारको लागि भएको मतगणनामा पराजित हुनु उनकै पार्टीमा रहेका नेता कार्यकर्ताहरुको उनीप्रति रहेको रुष्टतालाई उजागर गरेको छ।
२०७९ को निर्वाचनमा २० हजार दुईसय ५१ भोट ल्याएर निर्वाचित, एमालेको अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र पुर्व मन्त्री भएको व्यक्ति उम्मेदवार सिफारिसको मतदानमा आफ्नै पार्टीका पदाधिकारीबाट भोट नपाउनु आम जनसमुदायको लागि जिज्ञासा र चासोको विषय बनेको छ।
शनिबार पार्टी कार्यालयमा बसेको क्षेत्रिय बैठकमा ७ जना उम्मेदवारले आफ्नो नाम सिफारिस गर्न प्रस्ताव राखेकोमा बैठकले मतदान मार्फत ३ जनाको नाम सिफारिस गरेको थियो। उक्त क्षेत्रिय बैठकमा वडा कमिटी अध्यक्ष, पालिका पदाधिकारी अध्यक्ष सहित ६४ जनाले भोट हालेका थिए।
जसमा अध्यानन्द पाण्डेले ४६, एम समिउल्लाहले ३७ र सिमा ठकुरीले ३६ भोट पाएका थिए भने गायत्री देवीले ५ र पुर्व मन्त्री समेत रहेकी ज्वाला कुमारी साहले ४ भोट पाएकी थिइन् भने अन्य उम्मेदवारले शुन्य भोट पाएका थिए।
यस विषयमा पार्टीका एकजना नेताले प्रतिनिधि छनोट कुनै व्यक्ति वा समूहको दबावमा नभई पार्टीको आधिकारिक संयन्त्र, छलफल र सहमति मार्फत भएको बताए। र यसलाई सिफारिस भएका र नभएका उम्मेदवार दुबैले स्वीकार्नुपर्ने सुझाव दिए।
उनले भने, “भोटमा हारजित भइरहन्छ। सबैलाई उक्त निर्णय स्वीकार्नुपर्छ। उम्मेदवार सिफारिस नहुँदा पार्टी नै गलत वा धाधली भएको भन्न मिल्दैन। हामी पनि भोटमा हारेका छौं। त्यो जनसमुदाय र कार्यकर्ताहरुको ईच्छा र चाहनाको विषय हो।”
भेलामा अनियमितता भएको आरोप
यस विषयमा हामीले पुर्व मन्त्री एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह संग कुरा गर्दा उनले भेलामा गम्भीर अनियमितता भएको आरोप लगाएकी छन्। उनका अनुसार भेलामा केही व्यक्तिहरूले माओवादीबाट आएका व्यक्तिहरूको नाम सिफारिस नगर्ने प्रयास गरेका थिए। साथै एउटै व्यक्तिले १५ वटा मत दिएको देखिएपछि आफूले भेला बहिष्कार गरेर बाहिरिएको उनले बताइन्।
उनले भनिन्, “एउटै व्यक्तिले १५ वटा मत दिएको देखेपछि मैले भेला बहिष्कार गरेर बाहिरिएको हुँ।” भेला बहिष्कारपछि उम्मेदवारहरूको नाम आफैं सिफारिस गरिएको समेत उनको आरोप छ ।




