कलैया, २० पुस। आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ ।
क्यानले उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ। उक्त प्रतियोगिता जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा आयोजना हुने छ।
१० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।
प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष ४ टोली आउँदो वर्ष हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टिम :
इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीताराना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनीषा उपाध्याय





