कलैया, २० पौष। जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाखभन्दा बढी हुण्डी रकम सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ गडैयाटोल स्थित सडकखण्डमा ना १६ प ३०२० नम्बरको मोटरसाइकलमा आउँदै गरेको ३ जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी राजु कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देवरवाना बस्ने २२ वर्षिय पवन कुमार साह, ३० वर्षिय मुस्ताक अंसारी र १९ वर्षिय रामपुकार पासवान रहेका सुचना अधिकारी कार्कीले जानकारी दिए।
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको।




