कलैया, ०३ फागुन। बारा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले आज महागढीमाई नगरपालिका–७ स्थित तेलुकवा महादेवस्थान तथा पचरौता नगरपालिका–३ को रमनगर क्षेत्रमा रहेका कावराथु भक्तजनहरूसँग भेटघाट तथा दर्शन गरेका छन्। धार्मिक आस्थाको केन्द्र मानिने यी स्थानमा पुगेर उनले पूजा–अर्चना गर्नुका साथै स्थानीय भक्तजनसँग प्रत्यक्ष संवाद गरेका थिए।
भेटघाटका क्रममा उम्मेदवार यादवले स्थानीय बासिन्दा, भक्तजन तथा ज्येष्ठ नागरिकसँग क्षेत्रको विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सडक तथा आधारभूत पूर्वाधार सुधार, सरसफाइ व्यवस्थापन र सामाजिक एकता सुदृढीकरणका विषयमा छलफल गरेका थिए। उनले धार्मिक स्थलहरूको व्यवस्थित संरक्षणले प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले जनताको साथ, सुझाव र आशीर्वादले आफूलाई थप जिम्मेवार बनाउने उल्लेख गर्दै निर्वाचनमा विजयी भए पश्चात् शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र रोजगारीका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले विकासका योजनाहरूलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर सबै समुदायलाई समेट्ने गरी अघि बढाउने बताए।
उम्मेदवार यादवले जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि घरदैलो, भेटघाट तथा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।





