बारा, १४ कात्तिक । बाराको फेटा गाउँपालिका–३ मा आधारभूत स्वास्थ्य कार्यालय उद्घाटनका क्रममा भएको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा समितिको बैठक बोलाउने तयारी गरेको छ। घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न कर्फ्यु लगाउने विषयमा समेत तयारी भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनाको अवस्था र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिको बैठक बस्न लागेको हो। बैठकबाट आवश्यक सुरक्षा व्यवस्था तथा सम्भावित निषेधाज्ञासम्बन्धी निर्णय लिइने तयारी छ।
यसैबीच, प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १८ वर्षीय छोरा आदित पासवानलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्। आदितको पेटमा गोली लागेको छ।
१५ शय्याको अस्पतालमा विद्युत् तथा आवश्यक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। विरोधका क्रममा स्थिति तनावपूर्ण बनेपछि गोली प्रहार हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी भएको प्रारम्भिक विवरण छ।
घटनापछि फेटा क्षेत्रमा सुरक्षा चुनौती बढेको छ। जिल्ला प्रशासनले सम्भावित थप झडप रोक्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने तयारी गरेको छ। घटनाको थप विवरण तथा सुरक्षा समितिको निर्णय आउन बाँकी छ।





