Saturday, October 31, 2026

पूर्व र वर्तमान अध्यक्षबीचको विवादले फेटामा तनाव, घाइते युवकलाई काठमाडौं लगिदै, २५ प्रहरी र १२ कर्मचारी भवनभित्रै

Advertisement
Advertisement

बारा, १४ कात्तिक । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित स्वास्थ्य भवन उद्घाटन गर्ने विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि स्थिति तनावपूर्ण बनेको छ। विरोध प्रदर्शनका क्रममा तोडफोड, ढुंगामुढा र हवाई फायरसमेत भएको छ। हवाई फायरका क्रममा गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला समितिकी सभापति समीक्षा बास्कोटा नवनिर्मित भवन उद्घाटनका लागि फेटा आउने कार्यक्रम थियो। सभापति बास्कोटा कलैयासम्म आइपुगेको अवस्थामा उद्घाटन कार्यक्रमलाई लिएर गाउँपालिकाका पूर्वअध्यक्ष र वर्तमान अध्यक्षबीच विवाद देखिएको थियो।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार पूर्वगाउँपालिका अध्यक्षलगायतको टोलीले भवन उद्घाटन गर्न नदिने भन्दै आफूलाई जानकारी गराएको थियो। यता गाउँपालिकाका वर्तमान अध्यक्ष रुस्तम अंसारीले भने माननीय सभापति आउने कार्यक्रम रहेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन प्रशासनसँग माग गरेका थिए।

उद्घाटन कार्यक्रमलाई लिएर विवाद हुन सक्ने सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले सामाजिक सञ्जालमा स्टाटस तथा विरोधसम्बन्धी गतिविधि नगर्न र सडकमा झडप हुन सक्ने भएकाले संयमता अपनाउन आग्रह गरेका थिए। पूर्वअध्यक्ष र वर्तमान अध्यक्षबीच भवन उद्घाटनको विषयमा विवाद रहेको जानकारी पाएपछि उनले वर्तमान अध्यक्ष अंसारीलाई फोन गरेर अवस्थाबारे जानकारी लिँदै परिस्थिति बिग्रन सक्ने भएकाले उद्घाटन कार्यक्रम नगर्नसमेत आग्रह गरेका थिए।

तर, वर्तमान अध्यक्ष अंसारीले सामान्य विरोध मात्रै हुने र माननीय सभापति आइसकेपछि उद्घाटन कार्यक्रम गर्न सकिने जवाफ दिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। त्यसपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै सुरक्षा निकायका प्रमुखलाई घटनास्थलमा पठाइएको थियो।

कार्यक्रमस्थलमा स्थानीयवासीले विरोध गर्दै शिलालेख, टेन्टलगायतका संरचनामा तोडफोड सुरु गरेका थिए। त्यसक्रममा ढुंगामुढासमेत भएको र एक जनाले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्। सोही क्रममा गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १८ वर्षीय छोरा आदित पासवान घाइते भएका हुन्। उनलाई पेटमा गोली लागेको छ। गम्भीर घाइते पासवानलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।

घटनापछि अवस्था थप तनावपूर्ण बनेको छ। प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार घटनास्थलस्थित भवनभित्र २५ जना प्रहरी र १२ जना कर्मचारी रहेका छन्। उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ। सम्भावित थप झडप रोक्न र सुरक्षाकर्मी तथा कर्मचारीको सुरक्षाका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा समितिको बैठक बस्ने तयारी भइरहेको छ। बैठकमा फेटा क्षेत्रमा कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्। घटनास्थलको अवस्था नियन्त्रणमा लिन तथा थप मानवीय क्षति हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर