Friday, June 5, 2026

‘सुरक्षाको पूर्ण प्रत्याभूति छ, निर्धक्क भएर मतदान गर्नुस्’ प्रजिअ मिश्र

निर्वाचन विशेष अन्तर्वार्ता

spot_img

कलैया, ०४ फागुन । निर्वाचन आउन १७ दिन बाँकी छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै बारा जिल्लामा प्रशासनिक र सुरक्षा तयारीलाई तीव्र पारिएको छ। जिल्ला सुरक्षा समितिले ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्रको सुरक्षा विश्लेषण गर्दै करिब ४ हजारभन्दा बढी म्यादी प्रहरी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिसकेको छ। सीमावर्ती जिल्ला भएकाले भारतीय सुरक्षा निकायसँगको समन्वयदेखि सामाजिक सञ्जालको निगरानीसम्मका लागि विशेष संयन्त्र बनाइएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित बनाउन पूर्ण रूपमा तटस्थ रहने प्रशासनले प्रतिबद्धता समेत व्यक्त गरेको छ।

आगामी निर्वाचनलाई लिएर बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सँग पत्रकार रमेश ठाकुरले कुराकानी गरेका छन्। प्रस्तुत छ, प्रजिअ मिश्रसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश:

आगामी फागुन २१ गते निर्वाचन आउन थोरै दिन छ, तयारी अवस्था के छ हाम्रो बारा जिल्लामा?
अहिले सान्दर्भिक प्रश्न गर्नुभयो। तयारी चाहिँ दुई प्रकारले दुई चरणमा दुई तरिकाले भइरहेको छ। एउटा चाहिँ निर्वाचनको प्रशासनिक काम सम्बन्धी तयारी पनि भइरहेको छ, जस अनुसार मुख्य निर्वाचन अधिकृत नियुक्त हुनुभएको छ, निर्वाचन अधिकृत ज्यूहरु नियुक्त हुनुभएको छ। उहाँहरुले चाहिँ प्रशासनिक हिसाबले चाहिँ उहाँले तयारी गर्नुभएको छ। आचार संहिता पालना गर्ने विषयमा पनि उहाँहरुले तयारी गर्नुभएको छ। र अर्को पाटो भनेको सुरक्षाको पाटो हो। सुरक्षाको पाटोमा चाहिँ हामीले पनि निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नको लागि चाहिँ सुरक्षाका सम्पूर्ण तयारीहरु हामीले पुरा गरिसकेका छौ। जस अन्तर्गत हामीले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाको आधारमा जिल्लाको सुरक्षा योजना हामीले तयार गरेर लागु गरेको अवस्था छ। र त्यसै अनुसार चाहिँ आवश्यकता अनुसार भौगोलिक अवस्था अनुसार र आवश्यकता अनुसार चाहिँ हामीले सुरक्षाकर्मीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबै डिप्लोइमेन्टको तयारी पनि हामीले गरिसकेका छौ र त्यसका कामहरु पनि सुरु भइसकेको म जानकारी गराउन चाहन्छु। मूलभूत रुपमा चाहिँ सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिको भएको हुनाले यसमा रहेका सम्पूर्ण सदस्य ज्यूहरु सबै हामी डेडिकेटेड भएर लागिरहेका छौ र परिस्थितिको आकलन गर्ने काम पनि हामीले गरिरहेका छौ। त्यस क्रममा चाहिँ विभिन्न मतदान स्थलहरु स्थलगत रुपमा हेर्ने, त्यहाँको भौतिक अवस्था कस्तो छ, विगतको इतिहास कस्तो छ, विगतमा कुनै खालका घटना भए नभएको, अहिलेको परिस्थिति के कस्तो छ, मूलभूत रुपमा जनतालाई चाहिँ सुरक्षित रुपमा मतदान गर्न पाउने प्रत्याभूति हामीले दिने प्रयत्न अहिले गरिरहेका छौ र समग्रमा शान्ति सुरक्षाको अवस्था अहिले सामान्य छ र आगामी दिनमा पनि यसलाई सामान्य नै रहने र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने लाइनमा हामीले काम गरिरहेका छौ।

बारा जिल्लामा मतदान स्थल कति वटा छन् ? मतदान स्थल र मतदान केन्द्रहरुको व्यवस्थापन कसरी भइरहेको छ?
बारा जिल्लामा ३०५ वटा मतदान स्थल छ र ५८७ मतदान केन्द्रहरु छन्। त्यसमा चाहिँ निर्वाचनमा खटिने जनशक्तिहरु ३०३५-३६ को हाराहारीमा जनशक्ति आवश्यकता पर्छ। त्यो भन्दा धेरै ठुलो संख्यामा हामीसँग जनशक्ति छ र जिल्ला जनशक्ति व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुन्छ। त्यसले यहाँ जिल्लामा भएका जनशक्तिहरु प्रमाणित गरेर मुख्य निर्वाचन अधिकृत कार्यालयमा पठाउनु पर्ने हुन्छ, त्यो हामीले पठाइसकेका छौ र कर्मचारीको खटनपटन लगायतका विषयहरुमा अब मुख्य निर्वाचन अधिकृत ज्यूले यसमा काम पक्कै पनि गरिराख्नु भएको होला। त्यसकारणले चाहिँ मतदान स्थल ३०५ र मतदान केन्द्र ५८७ छन् र सबै मतदान केन्द्र र मतदान स्थलहरुमा कर्मचारी खटनपटन, सुरक्षाकर्मी खटनपटन लगायतका विषयहरु हामीले तयारी गरिसकेको अवस्था छ र हामीलाई चाहिने ४०३४ संख्यामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) त्यो पनि छनोट गरेर तालिम सम्पन्न भएर सम्बन्धित इलाकामा सम्बन्धित प्रहरी युनिटहरुमा खटिसकेको अवस्था छ।

मतदान स्थलहरुको संवेदनशिलतालाई लिएर, संवेदनशील र अति संवेदनशील क्षेत्र भनेर पनि तोकिएको छ, यसको पहिचान चाहिँ कसरी गरिएको छ?
यो जिल्ला सुरक्षा समितिले पहिचान गरेको विषय हो। यसमा कुन कुन मतदान स्थलहरु संवेदनशील छन्, अति संवेदनशील छन्, सामान्य छन् भन्ने कुरा बाहिर भनिराख्ने विषय यो होइन। यद्यपि हामीले निर्वाचनमा जति पनि मतदान स्थलहरु छन्, सबै नै संवेदनशील छ भन्ने हिसाबले हामीले सुरक्षा तयारी गरेका छौ। त्यसमा यो मतदान स्थल सुरक्षित र यो असुरक्षित भन्ने कुरा त्यसरी त्यो ढंगले हामीले हेर्ने गरेका छैनौ र वर्तमान अवस्थाको सुरक्षा संवेदनशीलता जिल्ला सुरक्षा समितिले क्लोजली मोनिटर गरिरहेको छ र त्यही अनुसार आफ्नो सुरक्षाको तयारी गरेको अवस्था छ।

हजुरको कार्यकाल लगभग मधेश तराईको जिल्लाहरुमा चाहिँ बढी बितेको हामीले पनि देखेका छौ, पहिला रौतहट त्यसपछि सुनसरी अब यो (बारा जिल्ला) लगभग सिमावर्ती क्षेत्रहरु, पछिल्ला चुनावहरुमा जुन गतिविधि हुने गर्थे, कुनै बेला रौतहटमा मतदान स्थलबाट मतपेटिका लुटेर भाग्ने किसिमको पनि सुनिन्थे, अब त्यस्तो हुन नदिनको लागि चाहिँ सुरक्षा तयारी कस्तो गरिएको छ?
मतदानलाई चाहिँ सुरक्षित पार्ने, मतपेटिकालाई चाहिँ सुरक्षित तरिकाले मतगणना स्थल सम्म ल्याउने, मतगणना चाहिँ सम्बन्धित तहबाट सम्बन्धित पदाधिकारीहरुबाट हुने र परिणाम नआउन्जेल र परिणाम पछिको जुलुस सम्मको सुरक्षा योजना हामीले बनाएका छौ। त्यसकारणले अब विगतमा कुनै मतदान स्थलहरुमा मतदान केन्द्रमा मतपेटिका लिएर जाने, यस्तो हामीले कल्पना गरेका छैनौ। यो कानुन विपरित पनि हो र त्यस्तो कसैले प्रयत्न गरेमा हद सम्मको कानुनी कारबाही गर्ने कानुनी अधिकार पनि र जिम्मेवारी पनि हामीलाई प्राप्त भएको छ। त्यसैले यो चुनावमा यो निर्वाचनमा त्यस्तो नहोला भनेर हामीले कल्पना गरेका छौ। यदि त्यस्तो भइहालेको खण्डमा प्रचलित कानुन बमोजिम हद सम्मको कारबाही गर्न पनि हामी पिछाडी पर्दैनौ।

बारा जिल्लाको पछिल्लो सुरक्षा अवस्था कस्तो पाउनु भएको छ?
बारा जिल्लाको पछिल्लो सुरक्षा अवस्था अहिले सम्मको आकलनमा सामान्य नै छ। छिटपुट घटनाहरु, झै-झगडाहरु, सामान्य खालका विवादहरु यस्ता खालका भएका छन्, त्यो सामान्य नै हो। तर त्यस्तो एकदम उल्लेखनीय ठुलो आपराधिक घटनाहरु अहिले पछिल्लो समय भएको हामी पाउँदैनौ। अब जनतामा अलिकति चेतनाको स्तर पनि बिस्तारै वृद्धि हुँदै गएको, अपराध गर्नु हुन्न भन्ने खालको मान्यता पनि मानसिकता पनि विकास हुँदै गएको हामीले पाएका छौ। सकारात्मक नै छ अहिले सम्म सबै पक्षबाट, राजनीतिक दल यहाँका आम जनता, यहाँका हाम्रो पत्रकार साथीहरु लगायतका सम्बन्धित सरोकारवालाहरु सम्पूर्णको तर्फबाट हामीले सहयोग सद्भाव प्राप्त गरेका छौ र त्यसैको आधारमा चाहिँ अहिले सम्म हामीले शान्ति सुरक्षा कायम गरेका छौ। यद्यपि विगतमा एक दुई वटा घटनाहरु जघन्य खालका घटनाहरु जिल्लामा भए, तर त्यो अनसोल्भड छैन, त्यो इमिडिएट ६-७ घण्टामा सोल्भ गरेको अवस्था पनि छ। यसमा हाम्रो सुरक्षा विशेष गरी नेपाल प्रहरीको टिमलाई चाहिँ उच्च प्रशंसा गरेकै छु मैले। त्यसकारणले त्यस्ता घटनाहरुलाई चाहिँ एकदम अनसोल्भड राखेर त्यस्तो हामीले राख्ने गरेका छैनौ र अहिले सम्म चाहिँ सन्तोषजनक नै छ जिल्लाको शान्ति सुरक्षाको अवस्था। यद्यपि सवारी दुर्घटनाहरु, यसमा चाहिँ सवारी दुर्घटनाको जुन विगतमा भइरहेको थियो, त्यसलाई रोक्न अलिकति कठिनाइ चाहिँ भइरहेको स्थिति छ। किनभन्दा परिपालना गराउने भन्दा कानुनको परिपालना गराउने भन्दा तोड्ने जनशक्ति र समूह ठुलो भयो भने हुँदो रहेछ। त्यसकारणले व्यक्ति आफैले पनि सचेत भएर दुई पाङ्ग्रे सवारी साधन चलाउँदा हेल्मेट लगाइदिने, दुई जना मात्रै यात्रा गर्ने, सुरक्षित तरिकाले हिँड्ने, जुन तोकिएको स्पिड छ गति छ, त्यो गतिमा हिँडिदिने, यस्ता काम नगरिँदा खेरि यताकदा दुर्घटना भइरहेको अवस्था छ। यसमा सबै जना सचेत हुनु पनि आवश्यक छ र स्वयं पनि कानुनको परिपालना गर्न आवश्यक म देख्छु। त्यो नभइकन चाहिँ कुनै एउटा निकाय वा कुनै एउटा व्यक्तिले मात्रै यो नियन्त्रण गर्ने भन्ने विषय रहँदैन। त्यसकारणले यसमा सबै जना सचेत हुनुपर्ने जरुरी चाहिँ छ। यद्यपि हामीले त्यसलाई नियन्त्रण गर्नको लागि चाहिँ आफ्नो तर्फबाट सुरक्षाको तर्फबाट जति पनि पहलहरु छन् ती सबै पहलहरु हामीले गरिरहेका छौ।

निर्वाचन आचार संहिता कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालयको भूमिका के हुन्छ?
हामीले बुझ्नु पर्ने कुरा के छ भन्दा एउटा जिल्ला आचार संहिता अनुगमन समिति भन्ने हुन्छ। यसको संयोजक चाहिँ मुख्य निर्वाचन अधिकृत ज्यू, सस-संयोजक प्रमुख जिल्ला अधिकारी र अरु एसपी साबहरु सदस्य हुनुहुन्छ त्यसमा। एउटा त्यो संयन्त्र छ। अर्को संयन्त्र भनेको सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख चाहिँ निर्वाचन आयोगबाट आचार संहिता अनुगमन अधिकृत भनेर तोकिनु भएको छ। यो दुइटा निकायले चाहिँ आचार संहिता अनुगमनको, आचार संहिताको उल्लंघन भएको नभएको अनुगमन चाहिँ गर्छ। अहिले सम्म हामीले चाहिँ जिल्ला आचार संहिता अनुगमन समितिले पनि काम गरिरहेको स्थिति छ र अनुगमन अधिकृतले पनि दैनिक रुपमा उहाँहरुले पनि दैनिक रुपमा अनुगमन गरेर प्रतिवेदन गरिराख्नु भएको छ। जहाँसम्म आचार संहिता उल्लंघन भयो नभएको भन्ने विषय छ, जिल्लामा चाहिँ यदाकदा कुनै कुनै ठाउँमा जानेर वा नजानेर आचार संहिता उल्लंघन भएका घटनाहरु रिपोर्ट भएका छन्। त्यसमा हामीले सम्बन्धित उम्मेदवार ज्यूहरुलाई पनि जिम्मेवार बनाउनु पर्ने हुन्छ किनभन्दा अहिलेको आचार संहिता सम्बन्धी जुन कार्यविधि छ निर्देशिका छ, त्यो निर्देशिकाले पनि जसले गरे पनि त्यसको अन्तिममा जिम्मेवार भनेको उम्मेदवार नै हुनुपर्ने भएको हुनाले र यो कानुन बमोजिम दण्डनीय पनि राखेको हुनाले पनि उहाँहरु पनि अलिकति सचेत हुन आवश्यक हुन्छ। ठुलो संख्यामा, ठुलो मात्रामा एकदमै अपाच्य हुने प्रकारको चाहिँ त्यस्तो आचार संहिता उल्लंघन भएको हामीले पाएका छैनौ। गाडीमा झण्डा झुन्ड्याउने, गाडीमा सानोतिनो पोस्टर टाँस्ने, आफ्नो तल्लो भेगमा विशेष गरि चाहिँ दक्षिणी भेगमा ठाउँ ठाउँमा कुनै कुनै ठाउँमा चाहिँ ब्यानरहरु राख्ने लगायतको कुराहरु चाहिँ रिपोर्टमा आइरहेको छ। त्यो सबै हामीले चाहिँ हटाउने, हटाएर त्यसपछि चाहिँ जिल्ला आचार संहिता अनुगमन समितिलाई रिपोर्ट गर्ने र गम्भीर प्रकारले आचार संहिता उल्लंघन भयो भने त्यसलाई कारबाहीको सिफारिस पनि गर्न सकिने भन्ने चाहिँ प्रावधान रहेको हुनाले सोही अनुसार हामीले काम गरिरहेका छौ।

आचारसंहिता कार्यान्वयनमा प्रशासनको भूमिका के हुन्छ? केही उम्मेदवारले प्रशासन तटस्थ नभएको आरोप पनि लगाएका छन् नि?
यो एकदमै कपोलकल्पित कुरा हो। हामीले जिल्लामा निर्वाचन सम्पन्न गराइरहँदा कुनै दल विशेषको व्यक्ति हामी हुँदा पनि होइनौ, हुनु पनि हुँदैन। हामीले तटस्थ भएर कुनै पनि राजनीतिक आस्था, कुनै पनि आग्रह पूर्वाग्रह नराखेर काम गर्ने हो। र त्यसरी हामीले काम गरिरहेका छौ र यो दललाई यो दलको आचार संहिता उल्लंघन होस्, यो दलको हुँदै नहोस् भन्ने चाहना हाम्रो कदापि हुनै सक्दैन। त्यो बिल्कुलै गलत कुरा हो। अब कसरी उहाँहरुले कसरी त्यो कुरा महसुस गर्नुभयो त्यो विषय मलाई थाहा भएन। तर हामीले गरेको भनेको जसको पनि जुनसुकै दलको भए पनि उजुरी आएको खण्डमा र हामीले देखेको खण्डमा हामीले अनुगमनको क्रममा भेटेको खण्डमा त्यसलाई कारबाही अगाडि बढाउँछौ। र यसमा सबै आदरणीय उम्मेदवार ज्यूहरुलाई, भोलि पर्सि अब कसले जित्नु हुन्छ कसले कसलाई मत दिन्छ भन्ने सँग हामीलाई कुनै सरोकार छैन। जनताले निष्पक्ष, सुरक्षित रुपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुहोस् र फेयर ढंगले चाहिँ कुनै उम्मेदवार चयन होस् भन्ने हाम्रो चाहना हो। यसमा कोही जित्दा खेरि म खुसी हुने, कोही जित्दा खेरि म दुखी हुने हामी सुरक्षा निकाय दुखी हुने भन्ने विषय यो कदापि हुनै सक्दैन। त्यस्तो कसैले मैले चाहिँ भेदभाव गरेको प्रमाणित गर्नुहुन्छ भने सरकारले मलाई कारबाही गरि पनि हाल्छ। त्यसकारणले त्यो बिल्कुलै छैन, त्यसमा कुनै दुविधामा नरहन चाहिँ म अनुरोध गर्दछु, र विगतका चुनावहरुमा या कुनै जमानामा कुनै कालखण्डमा कसैले चाहिँ निष्पक्षता अपनाएन अथवा कुनै दल विशेषलाई बढी जोड दियो होला अथवा दिएन होला, त्यसलाई आधार बनाएर आजको दिनमा यो २०८२ सालमा आएर त्यो शंका गर्नु चाहिँ त्यति जायज छ जस्तो मलाई लाग्दैन। त्यसकारणले म सबैलाई विश्वास के दिलाउन चाहन्छु भने हामी तटस्थ छौ, निष्पक्ष छौ, हामीलाई चाहिँ कुनै दल विशेषलाई कुनै समर्थन गर्नु पनि छैन, कुनै दल विशेषको विरोध गर्नु पनि छैन। फेयर ढंगले सबैले प्रतिस्पर्धा गर्नुहोस्, सुरक्षित ढंगले गर्नुहोस्, सुरक्षित ढंगले मताधिकार प्रयोग गरोस् हाम्रो जनताले, त्यति मात्रै हाम्रो चाहना हो। र हामी त्यसैमा लागिरहेका छौ। त्यसैले यसमा कुनै दुविधा कसैलाई छ भने त्यो दुविधामा नपर्नलाई चाहिँ म विनम्र अनुरोध गर्दछु।

अहिले सामाजिक सञ्जालमा एक किसिमको सानो कुरो पनि नभएको कुराहरु अफवाहको रुपमा फैलिने गर्दछ, अब बारा जिल्लामा यस्तो नहोस् भनेर रोक्नको लागि तपाईहरुको के छ प्रयास ?
हामीले एउटा चाहिँ सबै निकायको जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान यो सबैबाट एक एक जना राखेर डेडिकेटेड रुपमा हामीले ‘सामाजिक सञ्जाल निगरानी समिति’ भनेर हामीले बनाएका छौ। त्यसले चाहिँ त्यसको काम भनेको चाहिँ निर्वाचनलाई असर पार्ने प्रकारका अभिव्यक्ति, निर्वाचनलाई चाहिँ नकारात्मक प्रभाव पार्ने खालका कुनै खालको पोस्टहरु, कुनै खालको कमेन्टहरु, सामाजिक सद्भाव भड्काउने बिगार्ने खालका कुनै प्रकारका कमेन्टहरु या पोस्टहरु या धार्मिक सहिष्णुता माथि असर पुर्याउने खालका नकारात्मक असर पुर्याउने खालका अभिव्यक्ति र पोस्टहरुलाई चाहिँ हामी निगरानी गरेका छौ। र त्यसलाई कानुन बमोजिम हामी कारबाही गर्न प्रतिबद्ध छौ, तयार छौ। कतिपय केसमा हामीले गरिरहेका पनि छौ। सामान्य केसमा चेतावनी दिने अथवा के गर्ने, पुरा मुद्दामै लिएर जाने अथवा के गर्ने भन्ने विषय चाहिँ हामी सूक्ष्म रुपले हेरिरहेका छौ। त्यसैले कसैले पोस्ट गर्नुहुन्छ त्यसको कुनै रियाक्सन आएन भने चाहिँ हामीलाई थाहा छैन भन्ने हुँदैन। हाम्रो एउटा समूह छ, त्यसले चाहिँ नियमित रुपमा जिल्ला स्तरमा निगरानी गरिरहेको छ। प्रदेशमा पनि निगरानी भइरहेको छ, केन्द्रमा पनि निगरानी भइरहेको अवस्था छ। त्यसैले ‘मैले यो पोस्ट गरे अब मलाई केही पनि हुँदैन’ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रममा नपर्न म अनुरोध गर्दछु। हामी सबैलाई निगरानी गरेका छौ। निर्वाचनलाई नकारात्मक असर पर्ने, सामाजिक सद्भावलाई नकारात्मक असर पर्ने, कुनै व्यक्तिको चरित्र हत्या गर्न खोज्ने र गैरकानुनी खालका सामाजिक सञ्जालका गतिविधिहरु हामीले निगरानी गरेका छौ र त्यसलाई कानुन बमोजिम हामी कारबाही पनि गर्छौ।

बारा जिल्ला सिमासँग टाँसिएको जिल्ला हो, यस्तो अवस्थामा सिमापारीबाट पनि विभिन्न अवान्छित गतिविधि हुने गरेको पाइएको छ, यो भन्दा पहिला पनि, यो चुनाव होस् या नहोस्, तर यो चुनावलाई केन्द्र बनाएर अहिलेको सुरक्षा व्यवस्था जुन बनाइएको छ, अब त्यस हिसाबले उता सिमा-पारीपट्टीबाट आउने मान्छेहरुको निगरानी छ कि छैन?
हाम्रो चुनावमा चाहिँ हाम्रो समकक्षी बैठक भन्छ। हाम्रो यस जिल्लासँग जोडिएको पूर्वी चम्पारण जिल्ला रहेको छ र हामी सबै चाहिँ आफ्नो भारतीय समकक्षीहरुसँग नियमित संवादमा सम्पर्कमा छौ। हाम्रो एक खालको सम्झौता समझदारी पनि हुन्छ र अहिले पनि हुन्छ। त्यसमा चाहिँ कुनै अवान्छित तत्वहरुको प्रवेश, अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुको आवतजावत, एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने खालका प्रवृति भएका व्यक्तिहरुको निगरानी, यस्तै फेक करेन्सी (नक्कली नोट) चाहे त्यो भारतीय होस् चाहे नेपाली होस्, त्यो भारतीय नेपाली फेक करेन्सीहरुको चाहिँ प्रयोग हुन सक्ने अवस्था, त्यसको निगरानी, साना ठुला हात हतियारहरु ओसारपसार हुन सक्ने अवस्था, यी सबै कुराहरुको निगरानी चाहिँ हामीले गरिरहेका छौ। अझै बिस्तारै निर्वाचन नजिकिँदै जाँदा अझै सशक्त ढंगले त्यो अगाडि बढ्छ। हामीले चाहिँ समकक्षी बैठक पनि राख्छौ, राख्ने तयारी गरिरहेका छौ। दुइटै देशको भारतको पूर्वी चम्पारण र नेपालको बारा जिल्ला र पर्सा जिल्ला, यो हामी बसेर चाहिँ एउटा निर्वाचन सँग सम्बन्धित समकक्षी बैठक गर्छौ। अघि मैले उल्लेख गरेका विषयहरुमा चाहिँ दुईपक्षीय साझेदारी र हामीले चाहिँ सहकार्य गर्ने एउटा प्रतिबद्धता सामान्यतया अघिपछि पनि हुन्छ, निर्वाचनमा अझ विशेष हुन्छ। त्यसैले त्यो सहकार्य हामी गर्छौ र त्यस्ता गलत तत्वहरुलाई निर्वाचनमा प्रभाव पर्न नदिनको लागि हामी नियन्त्रण चाहिँ गर्छौ।

निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासनले के प्रतिबद्धता जनाउँछ?
मैले अघि पनि भनेको थिएँ, निष्पक्षतामा कुनै शंका नगरे पनि हुन्छ। निष्पक्ष निर्वाचन भनेको चाहिँ फेयर रुपमा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्यो र सुरक्षित रुपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्यो। यो नै हो मुख्य कुरा। फेयर निर्वाचन भइसकेपछि, स्वच्छ निर्वाचन भइसकेपछि त्यसको नतिजा पनि त्यही अनुसार स्वच्छतापूर्वक आउने र त्यसले एउटा जनताले चुनेको प्रतिनिधि चाहिँ चुनिने हुन्छ। त्यो सम्मको सुनिश्चितता हामीले गर्नुपर्छ। यसमा मैले अलिकति थप कस्तो भने, यो कुनै पनि दल विशेष अथवा कुनै पनि पार्टी विशेषको पिछाडी हामी लाग्दैनौ। हामीले निष्पक्षतापूर्वक तटस्थतापूर्वक हाम्रो न्युट्रालिटी नै मूल मन्त्र हो। हामी तटस्थतापूर्वक काम गर्छौ र तटस्थतापूर्वक हामीले काम गर्ने प्रतिबद्धता जनाइसकेपछि अटोमेटिकली निष्पक्ष हुन्छ भन्ने सुरक्षाको पाटोबाट म चाहिँ क्लियर गर्न चाहन्छु। हाम्रो मुख्य निर्वाचन अधिकृत ज्यूले पनि अब जनशक्ति खटनपटन गर्दा खेरि पनि उहाँले ती सम्पूर्ण कुराहरु हेरेर कर्मचारीका राजनीतिक दलहरुमा आबद्ध छ कि छैन भन्ने कुराहरु उहाँले हेर्नुहुनेछ। त्यो हेरेर कर्मचारी खटनपटन हुने हुनाले स्वाभाविक रुपमा निर्वाचन निष्पक्ष हुन जान्छ। भयरहित भनेको चाहिँ, भयरहित हुनको लागि सुरक्षा व्यवस्था मजबुत पार्नु भनेकै भयरहित बनाउनु हो। अघि मैले निवेदन गरे, हामीले सुरक्षा योजना बनाएर अगाडि बढिरहेका छौ र सुरक्षित पारेपछि स्वाभाविक रुपमा भयरहित पनि हुन्छ भन्ने मलाई लाग्छ।

उम्मेदवार र राजनीतिक दलहरुलाई के आग्रह गर्न चाहनुहुन्छ कि यो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नलाई उहाँहरुलाई केही सन्देश?
उहाँहरु बिना यो सम्भव नै हुँदैन। उम्मेदवार ज्यूहरु, आदरणीय उम्मेदवार ज्यूहरु जो भोलि पर्सि कानुन बनाउने ठाउँमा पुग्न लाग्नुभएको छ, राजनीतिक दलका हाम्रा आदरणीय सरहरु म्याडमहरु, उहाँहरुको सहकार्य समन्वय बिना निर्वाचन सम्पन्न हुन असहज हुन्छ। अहिले सम्म उहाँहरु सबैले सहयोग गर्नुभएको छ, चाहे त्यो आचार संहिता पालनाको कुरामा होस्, सुरक्षालाई आवश्यक पर्ने कुरामा उहाँहरुले नैतिक सहयोग गरेर होस्। ती सबैमा अहिले सम्म उहाँहरुले चाहिँ राम्रो सहकार्य गर्नुभएको छ, त्यसको म उच्च प्रशंसा गर्दछु। बाहिरबाट कसैले बारा जिल्ला यस्तो छ उस्तो छ भने पनि यो ग्राउन्ड लेभलमा हामीले काम गरिरख्दा खेरि त्यस्तो कसैबाट असहयोग प्राप्त भएको अहिले सम्म जानकारी छैन। र उहाँहरुबाट अपेक्षा पनि के छ भन्दाखेरि यसलाई सुरक्षित बनाउन, भयरहित वातावरण बनाउन, निष्पक्ष बनाउन जति हाम्रो भूमिका छ त्यो भन्दा बढी उहाँहरुको पनि भूमिका छ। आफ्नो कानुनले दिएको भूमिका स्वच्छतापूर्वक इमान्दारीपूर्वक पालन भइदियो भने निर्वाचन निष्पक्ष हुन्छ भन्ने कुरामा दुईमत छैन। त्यसैले मेरो आदरणीय उम्मेदवार ज्यूहरु र राजनीतिक दलका आदरणीय सर म्याडमहरुलाई एउटा अनुरोध के छ भन्दा यहाँहरुले आचार संहिताको पालना गरिदिनुस्। निर्वाचनलाई चाहिँ स्वच्छ प्रतिस्पर्धा हुनको लागि यहाँहरुले गर्ने योगदान सबै गरिदिनुस्। त्यो भएपछि निश्चय पनि सुरक्षित पनि हुन्छ, भयरहित पनि हुन्छ, निष्पक्ष पनि हुन्छ। हामीसँग सहकार्य अहिले सम्म जसरी गर्नुभएको छ, त्यही सहकार्यलाई पनि अझै पनि हामी निरन्तर राखौ र निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष, भयरहित बनाऔं भन्ने पनि उहाँहरुलाई मेरो तर्फबाट र जिल्ला सुरक्षा समितिको तर्फबाट पनि म विनम्र अनुरोध गर्दछु।

बाराका मतदाताहरुलाई तपाई के सन्देश दिन चाहनुहुन्छ?
बारा जिल्लाका सम्पूर्ण मतदाता ज्यूहरुलाई हामी सुरक्षा निकायका सबै यहाँहरुको साथमा छौ। हामीले चाहिँ मतदाता ज्यूहरुलाई ‘यो पार्टीमा भोट हाल्नुस्, यो चिन्हमा हाल्नुस्, यता लाग्नुस्, यता नलाग्नुस्’ भन्ने हामी भन्दैनौ। हामीसँग त्यो अपेक्षा पनि नराख्नु हुन अनुरोध गर्दछु। र आफ्नो मताधिकार प्रयोग गर्नलाई पनि म अनुरोध गर्दछु। र मताधिकार प्रयोग गर्दा खेरि चाहिँ कुनै पनि प्रकारको असुरक्षा हुँदैन। असुरक्षा महसुस भयो भने हामीलाई जानकारी गर्नुस् र हामी त्यसलाई सुरक्षित बनाउने तत्काल प्रयत्न गर्छौ र तत्काल हामी त्यसमा काम गर्छौ। त्यसैले एकदम ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्नलाई तयार भएर बस्नु हुन अनुरोध गर्दछु। र निर्वाचनलाई स्वच्छ बनाउनको लागि एउटा आदर्श मतदाताले, एउटा जिम्मेवार मतदाताले के के गर्नुपर्ने हुन्छ त्यो मैले भनिरहनु पर्दैन, आफै यहाँले बुझ्नु भएकै छ। निष्पक्षता माथि कुनै असर नपर्ने गरी काम गरिदिनुभयो, सुरक्षा माथि कुनै खलल नपुग्ने काम गरिदिनुभयो भने निर्वाचन चाहिँ अझै राम्रोसँग सञ्चालन हुन्छ भन्ने कुरा पनि म राख्दछु। उम्मेदवार ज्यूहरु आफै पनि बुद्धिमान हुनुहुन्छ, हाम्रो मतदाता ज्यूहरु पनि बुद्धिमान हुनुहुन्छ, उहाँहरुले आफ्नो विवेक प्रयोग गर्नलाई सक्षम हुनुहुन्छ। त्यसैले मैले चाहिँ सुरक्षाको प्रत्याभूति छ, त्यसमा असुरक्षित महसुस नगर्नुहोला। कुनै ठाउँमा असुरक्षित महसुस गर्नुभयो भने समयमा जानकारी गर्नुस्, हामी आवश्यक कदम चाल्छौ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर