बारा, ०४ असार । सरकारले प्रहरीको पोशाक खरिद प्रणालीमा हेरफेर गर्दै अब सुरक्षाकर्मीहरूलाई सिधै नगद उपलब्ध गराउने तयारी अघि बढाएको छ ।
प्रतिनिधि सभामा गृह मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफल र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङले उक्त जानकारी दिएका हुन् ।
विगत लामो समयदेखि केन्द्रीय तहबाट एकीकृत रूपमा गरिने पोशाक खरिद तथा टेन्डर प्रक्रियामा पटक-पटक विवाद र भ्रष्टाचारको आशंका उठ्ने गरेको भन्दै मन्त्री गुरुङले नयाँ विकल्प अघि सारिएको स्पष्ट पारे । छलफलका क्रममा गृहमन्त्री गुरुङले पोशाकको टेन्डर प्रक्रियामा विभिन्न प्रकृतिका इस्युहरू आउने गरेको स्वीकार गर्दै भने, “पोशाकमा जति रकम खर्च हुन्छ, त्यो रकम प्रहरीलाई नै दिने र उनीहरू आफैंले खरिद गर्ने सोच बनाएका छौँ ।”
नयाँ प्रणाली लागू भएमा हाल कायम रहेको झन्झटिलो टेन्डर प्रक्रिया अन्त्य हुने र प्रहरी कर्मचारीहरूले तोकिएको मापदण्डअनुसारको पोशाक खर्च रकम सिधै प्राप्त गरी आफैं आवश्यक पोशाक खरिद गर्न सक्नेछन् ।



