Sunday, June 21, 2026

बारामा बस पल्टिँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

बारा, ७ असार। वीरगञ्जबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान वीरगञ्ज–पथलैया सडक खण्डमा ना ७ ख २३५ नम्बरको बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश नरौलाको कमाण्डमा ५ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीको कमाण्डमा ५ जना र सशस्त्र प्रहरी सुरक्षा बेस जितपुर बकुलियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्व योन्जनको कमाण्डमा ८ जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो । सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र १ जनाको तराई हस्पिटलमा उपचार भइरहेको छ । नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा सप्तरीको तिलाठी कोईली गाउँपालिका–१ का ४२ वर्षीय कमलेश यादव , उनकी ३४ वर्षीया श्रीमती रुबी यादव र १५ वर्षीया छोरी शिवानी यादव रहेका छन् ।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका–१३ का ६४ वर्षीय राम नरेश प्रसाद बसका सह-चालक सप्तरी कञ्चनरुप नगरपालिका–१ का ४७ वर्षीय नरेश पञ्जियार र पर्साकै पकहा मैनपुर गाउँपालिका–५ का २८ वर्षीय धन्नजय प्रसाद चौरसियाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ३४ वर्षीया सुनिता यादवको पनि भित्री चोट लागेको र उनको अवस्था सामान्य रहेको छ । यता तराई हस्पिटल वीरगञ्जमा उपचाररत सिराहाको करजना नगरपालिका–११ का ६२ वर्षीय चिनी लाल श्रेष्ठको छातिमा भित्री चोट लागेको र उनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् बस चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाई हाल उक्त सडक खण्डमा सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर