बारा, ०८ असार। बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा पैदलयात्रीसहित तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज साँझ जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका एक अन्दाजी ३५ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदलयात्री तथा मोटरसाइकलमा सवार दुई जना युवक गम्भीर घाइते भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल र बयोधा अस्पताल पठाएको थियो।
उपचारका क्रममा नाम, थर तथा ठेगाना नखुलेका पैदलयात्रीलाई नारायणी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।त्यसैगरी मोटरसाइकलमा सवार काठमाडौंको टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी तथा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी प्रभु अधिकारीका अन्दाजी २० वर्षीय छोरा सभ्य अधिकारीलाई बयोधा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



