पर्सा, ०९ असार। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्बजनिक गरेको कक्षा १२ को नतिजामा पर्सा र बारा जिल्ला टप गर्ने बाराकी एकजना विद्यार्थीलाई कलेजले सम्मानित गरेको छ।
वीरगन्जस्थित ओम नेशनल कलेजमा अध्ययनरत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ निवासी कुल्सुम खातुनले कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फ ३.८८ जीपीए प्राप्त गरी पर्सा र बारा जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेपछि कलेज प्रशासनले उनलाई सम्मान गरेको हो।
कलेजले आज विशेष कार्यक्रम आयोजना गर्दै खातुनलाई खादा ओढाएर सम्मान गर्नुका साथै एक थान ल्यापटप उपहार स्वरुप प्रदान गरेको हो। भने उक्त कार्यक्रममा खातुनका अभिभावकको समेत उपस्थिति रहेको थियो।
सम्मानपछि प्रतिक्रिया दिँदै खातुनले आफ्नो निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन र परिवारको सहयोगका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएकी छन्।



