बारा, १६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू भोलि असार १७ गते बुधबारका दिन बन्द रहने भएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक श्री अब्दुल सत्तार अन्सारीको असार १५ गते भएको असामयिक निधनको शोकमा उपमहानगरपालिकाले भोलि एक दिन शोक बिदा दिने निर्णय गरेको हो।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आज (असार १६ गते) एक सूचना जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
शैक्षिक उत्थान र मदरसाको विकासमा स्वर्गीय अन्सारीले पुर्याउनुभएको उच्च योगदानको कदर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाहरूमा शोक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।



